काठमाडौँ । देशका अधिकांश भूभागमा मौसम सफा रहने भए पनि हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन । हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ ।
आज दिउँसो हिमाली क्षेत्र तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
सोमबार भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







