उद्योग-व्यवसाय सञ्चालन र लगानीमा सहजता ल्याउनेदेखि गैरआवासीय नेपालीको संवैधानिक अधिकार कार्यान्वयनसम्मका विषयमा कानुनी सुधार अघि बढाउँदै सरकार ।
काठमाडौँ । सरकारले उद्योग, व्यापार तथा लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न विद्यमान कानुन संशोधनको प्रक्रिया अघि बढाएको परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ का बासिन्दासँग आइतबार आयोजित भेटघाटमा मन्त्री खनालले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र आर्थिक समृद्धिलाई गति दिन कानुनी तथा नियामकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।
संशोधन गर्न लागिएका कानुन र त्यसबाट उद्योग, व्यवसाय तथा लगानीमा पुग्ने सहुलियतबारे केही हप्ताभित्रै सार्वजनिक गरिने उनले बताए । आवश्यक कानुन संशोधनका लागि सरकार र संसद्बिच सहकार्य हुनुपर्ने उल्लेख गर्दै आगामी संसद् अधिवेशनमा पनि संशोधन प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।
‘जति हामी देशलाई लगानीमैत्री बनाउन सक्छौँ, त्यति नै उद्योग व्यवसाय फस्टाउँछन् । त्यसबाट बल्ल रोजगारी सिर्जना हुन्छ भन्ने दृष्टिकोणसहित काम गर्दैछौँ,’ उनले भने, ‘त्यसको नतिजा आउन केही समय लाग्छ ।’
कानुनी व्यवस्था सहज नभएसम्म लगानीको वातावरण सुधार्न कठिन हुने मन्त्री खनालको भनाइ छ । परराष्ट्र मन्त्रालयले समेत केही कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको उनले बताए ।
सरकारले गैरआवासीय नेपालीलाई संविधान र कानुनद्वारा प्रदत्त अधिकार प्रयोग गर्न सहज बनाउने गरी कानुनी सुधारको कामसमेत अघि बढाएको खनालले जानकारी दिए । यसका लागि परराष्ट्र मन्त्रालयबाट सुरु गरिएको संशोधन प्रक्रियाका अतिरिक्त अन्य कानुनमा पनि आवश्यक परिमार्जन गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता कायम गर्न चाहने व्यक्तिले आवश्यक प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था विद्यमान कानुनमै रहेको उनले उल्लेख गरे ।
संविधानले प्रत्याभूत गरेका अधिकारको व्यावहारिक कार्यान्वयनमा जोड दिँदै मन्त्री खनालले संविधान संशोधन गर्नुपर्ने र विद्यमान कानुनी व्यवस्थाबाटै सम्बोधन गर्न सकिने विषयलाई अलग(अलग रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् ।







