रुपन्देही । पत्रकारकी छोरी अपहरणको आरोपमा चार जना परेका छन् । प्रहरीले पत्रकार विन्दुकुमार चौहानकी छोरी अपहरण गरेको अभियोगमा आज चार जनालाई पक्राउ गरेको हो ।
गोरु तस्करीमा संलग्नको समाचार लेखेको भन्दै पत्रकार चौहानलाई धम्की दिँदैआएका लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का मोविन फकिर लगायतका चार जनालााई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्नेमा चन्द्रिका पासी, हरेराम हरिजन र परमानन्द हरिजन छन् ।
गए राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० निवासबाट अपहरणमा परेकी चौहानकी १८ वर्षीया छोरी ममता नेपाल–भारत सिमानामा फेला परेकी थिइन् । अपाङ्गता भएका कारण हिँड्न र बोल्नसमेत नसक्ने उनलाई अपहरणपछि छाडेको बताइएको छ ।







