काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमत गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन् ।
शनिबार कास्की –२ को चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो आरोप लगाउँदै ओली राष्ट्रवादी नभएको दाबी गरेका हुन् ।
उनले महाकाली सन्धी गर्दा आफूले कालापानीलाई सीमा बनाए पनि सरकारले नेपाली भूभागको रक्षा गर्न नसकेको आरोप लगाएका छन् । पोखरा पुगेका देउवाले ओलीले कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गरेको आरोप लगाएका छन् ।
‘अघिल्लोपल्ट राष्ट्रवादी नारा लाएर जितेको होइन ? कहाँ छ त्यो राष्ट्रवाद ? ओलीको राष्ट्रवाद आज कालापानी पुगेर घुँडा टेकेको छ । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । यसकारण ओली राष्ट्रवादी नै होइन ।’ सभापति देउवाले भने, ‘ओलीसँग भित्रीरुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको हो, यो त्यसै छाप्छ ओलीको सहमतिबिना छाप्नै सक्दैन भारतले ।’
उनले आफू प्रधानमन्त्री भएका बेला महाकाली सन्धी भएको बताउँदै महाकालीलाई सीमा नदी मानिएको बताए । उनले आरोप लगाउँदै भने, ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएकाले यो सरकार राष्ट्रवादी नै होइन । यिनीहरु राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन् ।
भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भएको बताएको छ ।
नेपालले आपत्ति जनाएपछि भारतले आफ्नो नक्सामा ‘काली’ लेखिएको पदावली हटाएर संशोधित नक्सा सार्वजनिक गर्यो । तर, त्यसलाई पनि नेपालले मानेको छैन । प्रधानमन्त्री ओली स्वयंले सार्वजनिक मञ्चबाटै कालापानीबाट सेना हटाउन भारतलाई आग्रह गरेका छन् । यही साता सरकारले भारतलाई कूटनीतिक नोटसमेत पठाएको छ ।







