बाग्लुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र नेकपाको राष्ट्रवाद कालापानीमा विलय भएको अभिव्यक्ति दिएका छन् । बाग्लुङको निसीखोलामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै सभापति देउवाले कम्युनिष्टकोे राष्ट्रवादको असली हविगत देखिएको बताएका हुन् ।
शनिबार कास्की–२ को चुनावी सभालाई सम्वोधन गर्दा प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको माआरोप लगाएका देउवाले फेरी बाग्लुङको चुनावी सभालाई सम्वोधन गर्दा पनि त्यस्तै आरोप लगाएका छन् ।
सभापति देउवाले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा देशका भू–भाग पर्दा पनि सरकारले उचित पहल गर्न नसकेको भन्दै यो सरकार हर हिसाबले असफल भइसकेको अभिव्यक्ति दिएका छन् । उनले राष्ट्र र राष्ट्रियताका सवालमा वर्तमान सरकार उदासिन देखिएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीको राष्ट्रवादको नारा लिपुलेक, लिम्पुयाधुरा र कालापानीमा गएर टुंगिएको देउवाको दाबी छ। देशको दुई तिहाइको सरकार विकास र समृद्धिका लागि नभई लुट्नमै लागि परेको उनले बताए। जनतालाई साथ भन्दा पनि बढी दुःख दिने गरेको उनले गुनासो गरे।
नेपाली कांग्रेसको चुनावी सभालाई संवोधन गर्दै उनले भने, ‘कांग्रेस पार्टी फोस्रा कुरा गरेर जनतालाई छल गर्दैन, केन्द्रदेखि गाउँ तहसम्म भ्रष्टचार संस्थागत हुँदै गएको छ, सरकारले केही नयाँ काम गरेन। कांग्रेसकै पालामा भए गरेका कामलाई देखाएर सस्तो प्रचारमा रमाइरहेको छ।’







