काठमाडौं । एपेन्डिसाइटिस भएपछि उपचारका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सकिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सम्पन्न भएको हो।
अपरेशन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, कति दिन बस्नुपर्छ भनेर चिकित्सकहरुले एकिनका साथ बताएका छैनन् । प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारसमेत रहेका डा. सायमीले भने, ‘स्वास्थ्यका अरु कुराहरु पनि हेर्नुपर्छ, अहिल्यै भन्न सकिँदैन ।’
पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरेका हुन् । अस्पताल भर्ना भएपछि उनी मंगलबार सहभागी हुने भनिएका कार्यक्रमहरु प्रभावित भएका छन् ।
१२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले केही दिनयता चार पटकसम्म डायलासिस गराइसकेका छन् ।







