काठमाडौं । विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकाहरु सबै विद्यार्थी छन्। पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङगलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पाडेल र सिन्धुपाल्चोक ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् । प्रमुख योजनाकार गोविन्द र अन्जन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धान अधिकृतहरुको भनाइ अनुसार रकम चोरी गर्न बैंकका कर्मचारीको संलग्नता हुनसक्ने देखिन्छ । त्यही आधारमा प्रहरीले अनुसन्धानको दायरालाई साँघुरो बनाएर अनुसन्धान गरिरहेको छ ।
घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको पाइएको छ ।
उनीहरुले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेको प्रहरीले जनाएको छ ।
खातावालाको सक्कली भिसा कार्डसमेत लिएको पाइएकोले बैंक कर्मचारीको मिलेमतो र लापरबाही भएको हुन सक्ने भएकोले त्यसतर्फ अनुसन्धान गरिरहेको एसएसपी सुवेदीले बताएका छन् ।
पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
यसअघि करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । ७ असोजमा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको खुलेको थियो ।







