नवलपुर । तनहुँ देवघाट गाउँपालिका–५ लाई सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । विभिन्न महत्वपूर्ण १० सूचक पूरा गरेपछि सो वडालाई नेपालकै पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।
युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) गोरखाको प्राविधिक सहयोगमा सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।
सुरक्षित खानेपानीयुक्त वडा घोषणा गर्न खुला दिसामुक्त घोषणा, एक घर एक धारा, प्रत्येक घरमा खानेपानीको मिटर जडान र महसुल सङ्कलन, सरसफाइ तथा स्वच्छता कायम, खानेपानीको मर्मत सम्भार कोष स्थापना, समुदायमा खानेपानीको मर्मतसम्भार कर्ता, खानेपानी सुरक्षा योजनालगायतका विभिन्न सूचक पूरा गरिएको थापाले बताए ।
त्यस्तै खानेपानीमा कोलिफर्म र आर्सेनिक नभएको, समुदायलाई खानेपानी गुणस्तर तालीम, पालिकामा खानेपानी गुणस्तर अनुगमनका लागि कार्यविधि बनाइएको छ । वडा नं– ५ लाई सुरक्षित खानेपानीयुक्त घोषणा गर्नका लागि करीब रु एक करोड खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।
वडा नं– ५ मा १० वटा खानेपानी उपभोक्ता समितिमार्फत सबै वडावासीको घरमा खानेपानीको पाइप पु¥याइएको सुवेदीको भनाइ थियो । वडा नं– ५ का एक हजार ४५६ घरधुरीका आठ हजार ८१५ परिवारले सुरक्षित पानी पिउन पाएको सुवेदीले बताए।
आज देवघाटमा आयोजित सुरक्षित खानेपानीयुक्त घोषणा कार्यक्रममा युनिसेफ नेपालका निमित्त राष्ट्रिय प्रतिनिधि डा तमिज अहमदले दिगो विकासका लागि समुदायले पिउने पानी शुद्ध हुनुपर्ने बताए । अहमदले पानीको गुणस्तरलाई कायम राख्नका लागि युनिसेफले सधैँ सहयोग गर्ने बताए ।
कोस्डर गोरखा खानेपानी गुणस्तर स्रोत व्यक्ति समृद्धि गुरुङले सन् २०१९ को अगष्टमा शुरु भएको परियोजना डिसेम्बर २०१९ मा सकिएको बताए । पटक–पटकको अनुगमन र नजिताको मूल्याङ्कन पश्चात सो स्थानको पानी पिउनका लागि पूर्णरूपमा सुरक्षित र गुणस्तर भएपछि मात्रै सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको गुरुङले बताए।
खानेपानीको मुहान वरिपरी संरक्षणको आवश्यकता, पाइपलाइन फुटेर पानी दूषित हुने जोखिम, रिजर्भ ट्याङ्की वरिपरी सरसफाइको आवश्यकता, धारा सफाइको आवश्यकता देखिएकाले गाउँपालिकाको ध्यानाकर्षण गराइएको गुरुङको भनाइ थियो । रासस







