काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ।
असार २ मा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघु वंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात समातिएपछि अधिकारीमाथि पनि सूक्ष्म अध्ययन थालिएको थियो ।
लकडाउन पछि कार्यालय खुकुलो बनाउने निर्णय गरेकै दोस्रो दिन अधिकृत कँडेलसहित, खरिदार दीपक खनाल, नासु उद्धव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्कालाई अख्तियारले सामाखुसीको स्टार पार्टी प्यालेसबाट पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार : साढे आठ लाख घुससहित मालपोतका पाँच कर्मचारी पक्राउ
जग्गाको कित्ताकाट गर्ने आदेश गराइदिए बापत उनीहरूले सेवाग्राहीसँग घुस लिएका थिए। उनीहरूको बयानकै आधारमा अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको आयोग स्रोतले बताएको छ । कर्मचारी पक्राउ परेपछि मन्त्रालयले अधिकारीलाई डिल्लीबजार मालपोतबाट भूमि व्यवस्थापन तथा अभिलेख विभागमा काज फिर्ता गरेको थियो ।







