राँझा । बाँकेका स्थानीय तहले आन्तरिक आम्दानी बढाउन राजस्व सुधार कार्ययोजना तयार गर्न थालेका छन् ।
कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले कार्ययोजना तयार गरिसकेका छन् भने खजुरा गाउँपालिका कार्ययोजना तयारी चरणमा जुटेको छ ।
कोहलपुर नगरपालिकाको आन्तरिक आम्दानी तथा राजस्वको दायरा बढाउन योजनाका साथ काम भएको नगरप्रमुख लुटबहादुर रावतले बताए ।
उनका अनुसार विगत तीन आर्थिक वर्षको नगरपालिकाको आर्थिक प्रतिवेदनमाथि विश्लेषण र छलफलका आधारमा आगामी तीन वर्षको राजस्व प्रक्षेपणसहित राजस्व सुधार कार्ययोजना तयार भएको छ ।
कोहलपुरको आन्तरिक आम्दानी अहिले जम्मा बजेटको १० प्रतिशत मात्रै रहेकाले आगामी तीन वर्षमा यो दर बढेर १५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
यस्तै बैजनाथ गाउँपालिकाको आन्तरिक आम्दानी अहिले जम्मा बजेटको चार प्रतिशत रहेकामा आगामी तीन वर्षमा नौ प्रतिशत पु¥याउने प्रक्षेपणका साथ राजस्व सुधार कार्ययोजना तयार गरिएको छ ।
प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगन्जको सहयोग तथा सेन्टर फर गुड गभर्नेन्स एन्ड डेभलपमेन्ट म्यानेजमेन्टको परामर्शमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले राजस्व सुधार कार्ययोजना तयार गरेका हुन् ।
विगत तीन आवको स्थानीय तहको आर्थिक प्रतिवेदनमाथि विश्लेषण र छलफलका आधारमा आगामी तीन वर्षको राजस्व प्रक्षेपणसहितको राजस्व सुधार कार्ययोजना तयार गरिएको सेन्टर फर गुड गभर्नेन्स एन्ड डेभलपमेन्ट म्यानेजमेन्टका अध्यक्ष एवं सहजकर्ता टीकाराम पन्थीले जानकारी दिए ।
उनका अनुसार राजस्व सुधार कार्ययोजना तयारीका लागि फिल्ड सर्भे, वडा कार्यालय, नगरपालिकाका शाखा, उद्योग व्यापार सङ्घ र नगरपालिका आर्थिक विकास समितिबीच अन्तर्क्रियापश्चात् प्रतिवेदन तयार गरिएको हो ।
विगतमा योजनाबिनै काम गर्नुपर्ने बाध्यता रहेकामा अब राजस्व सुधार कार्ययोजना बनेसँगै काम गर्न सहज हुने कोहलपुरका आर्थिक विकास समिति संयोजक डिलबहादुर परियारले बताए ।
यस वर्ष बाँकेका तीन स्थानीय तहले मात्रै राजस्व सुधार कार्ययोजना तयार गर्दै छन् ।
कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले तयार गरिसकेको तथा खजुरामा तयारी कार्य भइरहेको सेन्टर फर गुड गभर्नेन्स एन्ड डेभलपमेन्ट म्यानेजमेन्टका सहजकर्ता हरगोविन्द पाण्डेले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेशका ३५ स्थानीय तहले यस आवमा राजस्व सुधार कार्ययोजना तयार गर्दै छन् ।







