काठमाडौँ । युरोपेली सङ्घले शुक्रवार रुसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय गरेको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर सङ्घले दबाब दिएको हो ।
रुसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि सङ्घले शुक्रवार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।
यसअघि २७ देशले रुसी उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रुसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् ।
रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । इन्धन व्यापारमा प्रभाव परेकाले विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको हो ।







