काठमाडौँ । अब उद्योगहरुले सुपारी, मरीच र केराउ आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा पनि शतप्रतिशत नगद मार्जिन (धरौटी रकम) राख्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले यसअघि नै दुई पटक गरी ६७ उपसमूह अन्तर्गतका करिब १४ सय वस्तुको आयातका लागि प्रतितपत्र खोल्दा ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
तर, उद्योगहरुले औद्योगिक प्रयोजनका लागि उल्लिखित वस्तु आयात गर्दाको हकमा भने नगद मार्जिन राख्नु नपर्ने व्यवस्था राष्ट्र बैङ्कको उक्त निर्देशनमा छ । तर अहिले राष्ट्र बैङ्कले अर्को निर्देशन जारी गर्दै सुपारी, मरीच र केराउमा भने उद्योगले औद्योगिक प्रयोजनका हकमा पनि शत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।
‘उद्योगहरुले आफ्नै प्रयोजनका लागि उद्योग स्वयमले आयात गर्ने सुपारी, मरीच र केराउ बाहेकका कच्चा पदार्थको हकमा यसअघि जारी भएका मार्जिन र सर्तहरू सम्बन्धी व्यवस्था लागू हुनेछैन,’ निर्देशनमा भनिएको छ ।