काठमाडौँ । भारत प्रशासित कश्मीरबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइलाई पाकिस्तानले अस्वीकार गरेको छ । पाकिस्तानले प्रधानमन्त्री मोदीको भनाइलाई पूर्ण रूपमा अस्वीकार गरेको छ जसमा उनले ‘कश्मीर मुद्दा हल गरिसकेको’ दाबी गरेका थिए ।
पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादमा जारी एक विज्ञप्तिमा भनेको छ, ‘प्रधानमन्त्री मोदीको यो भनाइ गलत र भ्रामक मात्र होइन, यसले भारतीय नेतृत्वले कश्मीरको वास्तविकतालाई कति हल्का रूपमा लिन्छ भन्ने पनि देखाउँछ।’ विज्ञप्तिमा भनिएको छ कि जम्मू कश्मीर एक विवादित क्षेत्र हो र यसलाई अन्तर्राष्ट्रिय रूपमा विवादित मानिन्छ ।
सन् १९४८ देखि यस विवादको समाधान संयुक्त राष्ट्र सङ्घको एजेन्डामा रहेको छ। विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घको स्पष्ट प्रस्तावका बाबजुद भारतले उक्त क्षेत्रमा अवैध कब्जा गरेको आरोप लगाएको छ ।