हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न निर्वाचनबाट उनी प्रतिस्पर्धी दीपक विकले भन्दा ३१ मत बढी ल्याएर निर्वाचित भएका हुन् । कुल २७९ खसेको मत मध्ये लामिछानेले १५४ मत प्राप्त गरे भने विकले १२३ मत प्राप्त गरेका थिए । २ मत बदर भएको थियो ।
आइतबारै राति सभापतिका आकाङ्क्षी ४ जनाबीच पहिलो चरणको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा दीपक विकले १२३, डा। अच्युतम लामिछानेले ९२, जिता बरालले ४६ र दिनेश हुमागाईँले १७ मत प्राप्त गरेका थिए ।
सभापतिका प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारहरू लामिछाने र बिकबीच प्रतिस्पर्धा भएको थियो ।
आइतबार साँझ प्रदेश समितिमा ८ जना महिला र ३ जना पुरुषसहित ११ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएपछि प्रदेश समितिले पूर्णता पाएको थियो । यसअघि नै बागमती प्रदेशका ६६ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले जिल्ला समितिले सिफारिस गरेका ६६ जना प्रदेश समिति सदस्यमा चयन भएका थिए । ३ जना मनोनीत सदस्य सहित ८० जनाको प्रदेश समिति रहने रास्वपाले जनाएको छ ।
यसै गरी प्रदेश समितिले रास्वपा मकवानपुरको संयोजकमा भरत पराजुली र सहसंयोजकमा प्रकाश गौतमलाई जिम्मेवारी दिएको छ ।