काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
बुधबार बसेको सत्ता गठबन्धन बैठकमा मन्त्रालय भागबण्डा टुङ्गिएपछि प्रधानमन्त्रीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
भागबन्डाअनुसार नेपाली कांग्रेसलाई ८, माओवादीलाई ५, नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा)लाई २/२ मन्त्रालय दिने सहमति भएको छ ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले १/१ वटा मन्त्रालय लिने सहमति भएको माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
माओवादी नेता श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ । उनले सम्हालिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एकीकृत समाजवादीलाई दिन प्रधानमन्त्री सकारात्मक छन् ।
गठबन्धनमा मन्त्रालयको भागबन्डा टुङ्गिएकाले आज मन्त्रिपरिषद् विस्तार हुने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।