काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन्।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको भागबन्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको बताएका हुन्।
उनले भने, ‘देशमा सुशासन नभएसम्म हामी अलमलिइरहन्छौँ। तर अब हामीसँग अल्मलिने छुट छैन। हामी अल्मलिनु हुँदैन। हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ। देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ। हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ। हामीले यो माफिया तन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबन्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चित कसैको छैन ।’







