काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताएका छन्।
शुक्रवार नेपाल निर्यात व्यवसायी महासङ्घसँगको भेटमा मन्त्री साउदले यस्तो बताएका हुन्। उनले स्वदेशी उत्पादनको निर्यात बढाउन सरकार सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले तत्परता देखाउनुपर्ने बताए। उनले नेपालले विभिन्न देशबाट बस्तु आयात गरे पनि त्यसअनुसार निर्यात गर्न नसक्दा व्यापार सन्तुलन हुन नसकेको बताए।
नेपालको उत्पादित वस्तु विदेशमा निर्यात गर्न सके अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुने बताए। उनले नेपालका उद्योगी व्यवसायीले विदेशबाट सामान आयात गर्ने मात्रै नभएर नेपाली उत्पादन पनि विदेश निर्यात गर्न आवश्यक रहेको बताए। मन्त्री साउदले नेपालको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि गर्न गुणस्तरीय वस्तु उत्पादन गरी निर्यातमा जोड दिनुपर्ने बताए।
उनले अहिले नेपालले आयात गर्ने अधिकांश देशमा व्यापार घाटा रहेको बताए। उनले निर्यात गर्ने वातावरणमा सरकार र निजी क्षेत्र दुवै लाग्न नसकेको स्विकारे। मन्त्री साउदले निर्यात प्रवर्धन गर्ने निकाय मजबुत हुन नसकेको भन्दै निजी क्षेत्र आफैँ सक्रिय हुनुपर्ने आग्रह गरे।







