जोमसोम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए ।“मुस्ताङको कोरलालगायत नाकाको सिमा क्षेत्रका बासिन्दालाई प्रवेश पत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,” उनले भने “कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो ।”
प्रधानमन्त्री दाहालले कार्यक्रम अघि हेलिकप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुगेको कागबेनी निरीक्षण गरे । कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उनले बताए । नेपालको प्रमुख चुनौतीका रूपमा रहेको भ्रष्ट्राचारविरुद्ध सरकारले थालेको शुसासनको अभियान नरोकिने पनि प्रधानमन्त्री दाहालले बताए । गठबन्धनले पाँचै वर्ष सरकार चलाउने बताउँदै उनले सत्ता बाहिर रहँदा केही नेताहरूलाई छटपटी भएकोसमेत टिप्पणी गरे ।
कार्यक्रममा उक्त पार्टीका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल, प्रदेश अध्यक्ष गायत्री गुरुङले तीन महिने जनतासँग अभियानले माओवादीलाई जनतामा फर्काएको र जनताको समस्या समाधानसँगै सङ्गठन निर्माणमा उत्साह छाएको बताए । कार्यकर्ता भेलाअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आजै जोमसोममा आयोजना गरेको ‘सरोकारवालासँग जलवायु संवाद’ कार्यक्रममा पनि सहभागी भए ।
प्रधानमन्त्री दाहाल समक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँच वटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए ।







