म्याग्दी । ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृष्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने परम्परा छ ।
धौलागिरि गाउँपालिका-७ स्थित ताकमकोतमा बडादसैँको महानवमी पर्वको अवसरमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ ।
ताकमकोतमा सोमबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धौलागिरि गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जिते ।
सोही वडाका अध्यक्षसमेत रहेका उनले आठौँ पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाएका हुन् ।
आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए ।
यसअघि आठ पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि जितेका थिएनन् ।
प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ युवाले सहभागिता जनाएका थिए ।