काठमाडौँ । काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सले पोखरा थन्डर्समाथि जित निकालेको छ ।
सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखरा काठमाडौँसँग २-१ गोल अन्तरले पराजित भयो ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५७ औँ मिनेटमा आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए ।
तर खेलको ८२ औँ मिनेटमा काठमाडौँका जुनियर एनकेनगेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा काठमाडौँका जोकिर शोख्रुखले गोल गर्दै टोलीलाई २-१ ले जिताए ।
जितसँगै काठमाडौँ ५ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखरा ५ खेलमा ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।







