काठमाडौँ । रसुवाको भोटेकोशी-त्रिशूली नदीको बाढी प्रभावित क्षेत्रमा हालसम्म कुनै महामारी नदेखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहे पनि खानेपानीका नमुनामा दिसाजन्य जीवाणु भेटिएपछि सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि थप सतर्कता अपनाइएको विभागले जनाएको हो।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले बाढी प्रभावित क्षेत्रमा सञ्चालित स्वास्थ्य सेवा, रोग निगरानी र महामारी रोकथामका कार्यक्रमबारे जानकारी गराएका हुन्।
पौडेलका अनुसार प्रभावित क्षेत्रमा स्थापना गरिएका १४ वटा होल्डिङ सेन्टरमार्फत २१ हजार ३९१ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। त्यसैगरी, आकस्मिक चिकित्सा टोली तथा स्वास्थ्य शिविरमार्फत थप नौ हजार ५६४ जनालाई उपचार तथा अन्य स्वास्थ्य सेवा प्रदान गरिएको छ।
पानीका १५ नमुनामध्ये पाँचमा दिसाजन्य जीवाणु
बाढी प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको सुनिश्चितता प्रमुख स्वास्थ्य चुनौतीका रूपमा देखिएको विभागले जनाएको छ।
निमित्त महानिर्देशक पौडेलका अनुसार विभिन्न स्थानबाट संकलित खानेपानीका १५ वटा नमुना परीक्षण गर्दा पाँच वटामा दिसामा पाइने जीवाणु भेटिएको थियो।
दूषित पानीका कारण झाडापखाला तथा हैजाजस्ता पानीजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा पानीको क्लोरिनेसन तथा शुद्धीकरण अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।
महामारीको सम्भावित जोखिम नियन्त्रण गर्न रसुवामा २१ हजार ६०० र नुवाकोटमा ८० हजार ५२३ गरी कुल एक लाख दुई हजार १२३ जनालाई मुखबाट खुवाइने हैजाविरुद्धको खोप दिइएको विभागले जनाएको छ।
नौ हजारभन्दा बढीलाई मानसिक स्वास्थ्य परामर्श
बाढीबाट प्रभावित नागरिकको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिएको विभागले जनाएको छ।
पौडेलका अनुसार प्रभावित क्षेत्रमा परिचालित १३९ जना मानसिक स्वास्थ्यसम्बन्धी जनशक्तिको सहयोगमा नौ हजार ३६८ जनालाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य परामर्श उपलब्ध गराइएको छ।
परामर्श लिएका केही व्यक्तिलाई मनोसामाजिक सहयोग मात्रै पर्याप्त नभई औषधिसहितको उपचार आवश्यक देखिएको जानकारीसमेत उनले समितिलाई गराए।
सात निगरानी टोली परिचालन, ८७ जनामा झाडापखाला
सम्भावित संक्रामक रोगको प्रकोप समयमै पहिचान तथा नियन्त्रण गर्न प्रभावित क्षेत्रमा सात वटा स्वास्थ्य निगरानी टोली परिचालन गरिएको विभागले जनाएको छ।
ती टोलीमार्फत प्रारम्भिक चेतावनी तथा प्रतिकार्य प्रणाली र घटनामा आधारित रोग निगरानी प्रणालीबाट दैनिक स्वास्थ्य विवरण संकलन भइरहेको पौडेलले बताए।
विभागका अनुसार हालसम्म ४४८ जनामा रुघाखोकीलगायतका लक्षण र ३०१ जनामा ज्वरो देखिएको थियो। उनीहरूले उपचार पाइसकेको विभागले जनाएको छ।
त्यस्तै, ८७ जनामा झाडापखाला देखिएको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्क तथा निगरानीमा रहेको पौडेलले जानकारी दिए।
खानेपानीका केही नमुनामा दूषित जीवाणु भेटिएको र प्रभावित नागरिकमा पानीजन्य रोगका लक्षण देखिएको भए पनि हालसम्म महामारीको अवस्था पुष्टि नभएको विभागको भनाइ छ।
विभागले बाढी प्रभावित क्षेत्रमा महामारीको अवस्था नदेखिएको जानकारी दिए पनि दूषित पानी तथा झाडापखालाका बिरामी भेटिएकाले रोग निगरानी र रोकथामका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।




