काठमाडौँ । वैशाख १ गते (शनिवार)देखि ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार आम नागरिकलाई जुनसुकै समयमा वस्तु तथा सेवा उपभोग गर्ने अवसर सिर्जना गर्न, पर्यटकीय गतिविधि बढाउन तथा रात्रिकालीन समयमा हुने व्यावसायिक गतिविधिबाट अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै किसिमका व्यापार व्यवसाय चौबिसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइएको हो ।
ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण सुरक्षा प्रत्याभूति सहित थप मर्यादित, व्यवस्थित र अनुशासित बनाउने प्रयोजनको लागि “पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८०” जिल्ला सुरक्षा समितिबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता हरि प्रसाद शर्माले जानकारी दिए ।
व्यवसायी, उपभोक्ता, श्रमिक, स्थानीय बासिन्दा, सुरक्षा निकाय, स्थानीय तहलगायत सबै सरोकारवालाहरूबाट आचारसंहिता एवं मापदण्डको पूर्ण परिपालना एवं कार्यान्वयन गरी बजार क्षेत्रलाई जीवन्त तुल्याई उदाहरणीय पर्यटकीय तथा व्यावसायिक गन्तव्य बनाउन आवश्यक रहेको उनले बताए । आचारसंहिता एवं मापदण्ड विपरीतका गतिविधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने शर्माले जानकारी दिए ।
हेर्नुस् पूर्ण समय व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड :