काठमाडौँ । देशभर अविरल वर्षाका कारण २३ वटा राजमार्गका विभिन्न ६४ स्थानमा यातायात अवरुद्ध भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अवरुद्ध भएका राजमार्गहरूमा यातायात सञ्चालनका लागि आपतकालीन मर्मत कार्य तीव्र पारिएको छ।
राजधानी जोड्ने प्रमुख मार्ग नाग ढुङ्गा-नौबिसे-मुग्लिन सडकखण्डको धादिङको कमेरे, मलेखु र सितलाबजार लगायतका स्थानमा अवरोध हटाई सवारी आवागमन सञ्चालनमा ल्याइएको छ। नाग ढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टलतर्फ रोकिएका सवारी साधनहरूलाई निर्माणाधीन सुरुङ मार्गको प्रयोग गरी काठमाडौँ भित्र्याइएको मन्त्रालयले जनाएको छ।
मुग्लिन–पोखरा सडक खण्ड र मलेखु-मुग्लिन-नारायणघाट सडक खण्डमा पनि पहिरो पन्छाएर सडक सुचारु गरिएको छ। यस्तै, बीपी राजमार्गको भुरुङ्गे, माथिल्लो सिस्नेरी, माम्ती, नेपालथोक, मङ्गलटार लगायतका स्थानमा रहेका अवरोध हटाउने प्रयास जारी छ। पुष्पलाल मध्य पहाडी राजमार्गका सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, कुखुरेटार, खोटाङको खोक्सेली लगायतका स्थानमा अवरोध छिट्टै खुलाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, मिर्चैया(कटारी(घुर्मी, शहीद मार्ग (रोल्पा), भेरी कोरिडोर, सालझण्डी-सन्धीखर्क लगायतका सडकका विभिन्न स्थानमा आएका पहिरो हटाएर यातायात सुचारु गर्ने काममा सडक विभागको टोली सक्रिय रहेको मन्त्रालयको भनाई छ ।

साथै, मेची राजमार्गको हेवा खोलाको वेलिब्रिज र अरनिको राजमार्गको लार्चा स्थित वेलिब्रिज पूर्ण रूपमा बगाएको र दोलखा तथा रामेछाप जिल्लालाई तराईसँग जोड्ने लाइफलाइनको रूपमा रहेको खुर्कोट स्थित सुनकोशी नदीको पुलको बायाँतर्फको स्पान पूर्ण रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ। क्षतिग्रस्त स्थानमा यथाशक्य छिटो वेलिब्रिज जडान गरी यातायात सुचारु गर्ने योजना रहेको मन्त्रालयले प्रशासनलाई जानकारी दिएको छ।
राष्ट्रिय राजमार्गमा भएका अवरोध हटाउने कार्यमा सडक विभागका हेभी मेशिन र जनशक्ति पूर्ण क्षमतामा परिचालन गरिएको र आवश्यक मेशिनहरू भाडामा लिएर अवरुद्ध राजमार्गहरू खुलाउन अहोरात्र खटिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सर्वसाधारणलाई अवरुद्ध राजमार्गहरूको विवरण सडक विभागको वेबसाइटमा हेर्न र नजिकको सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित सुरक्षा निकाय, ट्राफिक प्रहरी लगायतबाट विस्तृत जानकारी लिएर मात्र यात्रा गर्न अपिल गरेको छ।
मन्त्रालयले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै प्रभावकारी सूचना प्रवाह र सडक मर्मत सम्भारको लागि निरन्तर समन्वय गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ। साथै, यस कठिन परिस्थितिमा सहयोग गर्ने सबै सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको छ।







