काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोहरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ ।
समितिले स्वीकृति दिएको तोयनाथ पन्तको पञ्चांगमा पूर्णिमा व्रत असोज ३० गते बुधबार लेखिएको छ । अन्य पञ्चांगमा भने कात्तिक १ गते बिहीबार लेखिएको छ । यसले पञ्चांग प्रयोगकर्तामा कुन दिन पूर्णिमा व्रत बस्ने भन्ने भ्रम उत्पन्न भएको हो । पात्रोका प्रयोगकर्ता मच्छेन्द्र सापकोटाले आश्विन शुक्ल पूर्णिमाको व्रतका बारेमा फरक-फरक दिन उल्लेख भएर कुन दिन मनाउने भनी भ्रम भएको बताए ।
तोयनाथ पन्तको पञ्चांगका सम्पादक सूर्यनाथ पन्त भूलबस पूर्णिमा व्रत असोज ३० गते हुन गएकामा सच्याएर अर्को पञ्चांग निकालिएको बताउँछन् । पहिले छापिएको पञ्चांग बजारबाट प्रयोगकर्ता कहाँ पुगेर प्रयोगकर्तामा अन्योल भएको हुनसक्ने उनको दाबी छ । अशुद्ध पात्रोका विषयमा केही जानकारी नपाएको प्रयोगकर्ता बताउँछन् ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई पूर्णिमा व्रतलाई साँझमा पूर्णिमा तिथि हुनुपर्ने भएकाले कात्तिक १ गते हुने गरी निर्णय गरिएको बताउँछन् । कोजाग्रत पूर्णिमाका लागि भने मध्यरातमा पूर्णिमा चाहिने भएकाले असोज ३० गते हुने गरी निर्णय गरिएको पनि उनले सुनाए । अखिल बलि पूर्ति भने असोज ३० गते बुधबार नै परेको समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।







