काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले समाचारलाई अनावश्यक रूपमा सनसनीपूर्ण नबनाउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
बिहीबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियाका क्रममा उनले पत्रकारिता जगतले पूर्ण प्रेस स्वतन्त्रताको दुरुपयोग गर्न नहुने बताए ।
‘समाचारलाई अनावश्यक रूपमा सनसनीपूर्ण नबनाउनुस्,’ प्रधान न्यायाधीश राउतको आग्रह छ, ‘न्यायपालिका पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक प्रावधानको सम्मान गर्छ । पत्रकारिता जगतले त्यो स्वतन्त्रताको दुरुपयोग नगरोस् ।’
साथै, उनले सबैले आ-आफ्नो आचारसंहिता ननाघ्दा दुष्परिणाम आफैँ रोकिने दाबी गरे ।
‘प्रेसको स्वतन्त्रता कतैबाट कुण्ठित हुन दिने छैनौँ । तर आफ्नो मर्यादा नभुल्नुस्,’ उनले सञ्चारकर्मीलाई आग्रह गर्दै भने ।
आदेश र फैसलामा शानदार रूपमा टीकाटिप्पणी गर्दा स्वीकार्य हुने उनले बताए ।







