हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको बजेट २० करोड वृद्धि भएको छ । शुक्रबार भएको १६ औँ नगर सभाले बजेट संशोधन प्रस्ताव पारित गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै शुक्रबारको १६ औँ सभाले बजेटको आकार बढाएको हो।
उपमहानगरको नगर सभाले उपप्रमुख राजेश बानियाँले चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको प्रगति समीक्षा तथा संशोधित कार्यक्रम प्रस्तुत गर्दै संशोधन सहितको २ अर्ब ७२ करोड रुपियाँको बजेट पास गरेका थिए। उपमहानगरले यसअघि २ अर्ब ५२ रुपैयाँको बजेट ल्याएको थियो ।
उपमहानगरले अनिवार्य दायित्व सिर्जना भएका खर्चहरू व्यवस्थापनका लागि गत असारमा पास भएका बजेटमा लागि १९ करोड ९७ लाख १० हजार रुपियाँ थप गरेको हो।
उपमहानगरले चालू आर्थिक वर्षमा बहुवर्षीय योजनाको भुक्तानी तथा पूर्वाधार योजनाको लागि ५ करोड, सिमलटार खानेपानी योजनाका लागि ५० लाख, कार्यालयको इन्धन व्यवस्थापनका लागि १ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २३ करोड, सामुदायिक विद्यालयको इसिडि शिक्षक तथा विद्यालय कर्मचारी प्रोत्साहनका लागि १ करोड २२ लाख सहित विभिन्न १२ शीर्षकमा दायित्व अनुमान गरेर बजेट संशोधन गरेको हो ।
स्रोत व्यवस्थापनका लागि आन्तरिक आयतर्फको ढुंगा गिट्टी बालुवाको ‘आईईई’ गरी ठेक्काको चरणमा रहेको, करको दायरा वृद्धि गर्ने कार्यका लागि व्यवसाय दर्ता गराउन घुम्ती शिविर सञ्चालन गर्ने र खर्च नहुने बजेट शीर्षकबाट स्रोत व्यवस्थापन गर्दै अघि बढ्ने निर्णय नगर सभाले गरेको छ।







