काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल सरकार निजी क्षेत्रसँग मिलेर व्यवसायी वातावरण निर्माण गर्ने कुरामा अगाडि बढेको बताएका छन् ।
बुधबार काठमाडौँमा टानद्वारा आयोजित लोसार कार्यक्रममा गृहमन्त्री लेखकले व्यवसायी वातावरण निर्माणका लागि सरकारले अध्यादेश जारी गरेको बताएका हुन् ।
‘व्यवसायी वातावरण निर्माणका लागि सरकारले भरखर केही अध्यादेश जारी गरेका छौँ । अध्यादेश संघीय संसदबाट स्वीकृत भइसकेका छन् । आज मात्र ती अध्यादेशलाई प्रतिस्थापन गर्ने गरेर केही विधेयक अगाडि बढाएका छौँ, ’उनले भने ।
निजी क्षेत्रले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिका लागि अगाडि बढ्दा उत्पन्न हुने समस्या समाधान गर्न नेपाल सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए । ‘तपाईँको व्यवसायलाई सरल, सहज, पर्यटनमैत्री बनाउन कसरी सकिन्छ । त्यसका लागि नेपाल सरकार तपाईंहरुसँग मिलेर काम गर्न तयार छ, ’उनले भने ।
पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए । ‘तपाईँहरूले भिसाको कुरा गर्नु भएको छ । कतिपय क्षेत्रमा आवागमन अवरुद्धको कुरा उठाउनु भएको छ । यसको सहजता र सरलताका लागि हामी तयार छौँ । यी विषयमा छलफलका लागि सम्बन्धी मन्त्रालयमा आउनुहोस्,’ उनले भने ।
पर्यटनको विकासका लागि टानले योगदान गरेको भन्दै पर्यटन व्यवसायीको लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले टानले विदेशी पर्यटनलाई नेपालमा आकर्षण गर्नका लागि टानले राम्रो काम गरेको बताए । ‘हामीसँग प्राकृतिक सम्पदा छ, प्राकृतिक सुन्दरता छ । नेपाल सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ । भाषिक सभ्यता र संस्कृतिका महत्त्वपूर्ण धरोहर छन् । टानले विदेशी पर्यटनलाई आकर्षण गर्न राम्रो काम गरेको छ, ’उनले भने ।