काठमाडौँ । पछिल्लो समय राजावादीहरूले गरिरहेको गतिविधिप्रति नागरिक समाजले आपत्ति जनाएको छ ।
वृहत् नागरिक आन्दोलनको लेटरप्याडमार्फत् गरिएको सार्वजनिक अपिलमा जनआन्दोलन र जननिर्वाचित संविधानसभामार्फत बिदा गरिएको राजतन्त्र पुनर्स्थापित गर्न पुरातनवादी शक्तिहरूको गतिविधिप्रति गहिरो ध्यानाकर्षण भएको उल्लेख छ ।
जनताको संघर्ष र बलिदानले निर्मित संविधानलाई उल्टाउने नेपाली समाजमा नयाँ द्वन्द्व सृजना गर्ने र मुलुकलाई अस्थिरताको दुश्चक्रमा फसाउने शंशयसमेत व्यक्त गरिएको छ । यस्ता अराजक गतिविधिको कारक प्रमुख राजनीतिक दल र नेताहरूलाई नै औँल्याइएको छ ।
अपिलमा भनिएको छ, ‘लोकतन्त्रको लाभ र अवसर आम नागरिकले अनुभूत गर्न नपाउनुमा प्रमुख राजनीतिक दलहरू नै मुख्यतया जिम्मेवार छन् । प्रमुख नेताहरूको अलोकतान्त्रिक आचरण र व्यवहारकै कारण दलहरू जनतामा जीवन्त संस्था बन्नुको सट्टा स्वार्थ समूहका राज्य कब्जा गर्ने माध्यममा रूपान्तरित भएका छन्, जसले गर्दा जनतामा असन्तोष हुनु स्वाभाविक छ ।’
लोकतन्त्रका आधारभूत खम्बामाथि हुने कुनै पनि प्रहारबाट संविधानको रक्षा गर्न र नागरिक स्वतन्त्रतालाई अक्षुण्ण राख्न नागरिक समाज प्रतिबद्ध भएको उल्लेख गरिएको छ ।
