काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले तीनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्। उनले महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यहरूलाई भेटेका थिए । सोही क्रममा पीडित परिवारमा समवेदना व्यक्त गर्दै सहयोगको आश्वासन दिएका हुन् ।
चैत्र १५ गते भएको राजावादी समूहको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर साहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए। उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।
‘राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,’ मेयर साहले भने।
उनले पीडित परिवारको पक्षमा कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोगसमेत प्रदान गरिने जानकारी दिए।