काँक्रेविहार (सुर्खेत) । कर्णालीका चार जिल्लाका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएका छन् ।
रुकुम पश्चिमको मुसिकोट-११ मा स्थित पृतिबाङ खोलामा बाढी आएपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
कालीकोटको पचालझर्ना गाउँपालिका-८ मा पहिरोका कारण कालीकोट-हुम्ला खण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । कालीकोटको खाडाचक्र-८ सिम्लाघार्डमा ढुंगा खसेका कारण सुर्खेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कालीकोटकै सन्नीत्रिवेणी-३ सिस्नेगाड, रास्कोट-८ भार्तडीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
भेरीगंगा-११ साधिकोखोला पहिरो जाँदा जाजरकोट सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।