काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको समृद्धि र विकासमा दुई छिमेकी राष्ट्रको सहयोग चाहेको बताएका छन्।
चाइना फाउण्डेशन फर रुलर डेभलपमेन्ट नेपालले जनकपुरको सरस्वती नमुना माविलाई १४४ वटा डेस्करबेन्च, स्मार्टबोर्ड, ह्वाइटबोर्ड‚ स्टेशनरी‚ ६०२ सेट पोशाक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पछिल्लो समयमा चीनले फाउण्डेशनमार्फत शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गरिरहेको कामको सह्राना गरे। नेपालले दुवै छिमेकीसँग मित्रवत् सम्बन्ध राख्न चाहेको उनको भनाइ थियो।
त्यसैगरी प्रतिनिधि सभा सदस्य जुली महतोले नेपालको भौतिक पूर्वाधार निर्माणमा चीनको महत्त्वपूर्ण योगदान रहेको बताइन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले चीनले शैक्षिक सामग्री दिएकोमा खुसी व्यक्त गरे।
नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य काउन्सीलर सीईयू, चाइना फाउण्डेशन फर रुलर डेभलपमेन्ट नेपालका कन्ट्री डाइरेक्टर चाओ स्याङ र दूतावासका राजनीतिक तथा प्रेस मामिला निर्देशक यु फङ छङले विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरे।
चाइना ग्रामीण विकास फाउण्डेशन नेपाल कार्यालयकी निर्देशक सु चोउ चच्याङले मधेशप्रति चिनियाँ जनताको विशेष संवेदना रहेको र यस्ता कार्यले नेपाल–चीनको मित्रता थप मजबुत बनाउने बताइन्।
त्यसैगरी फाउण्डेशनले प्रादेशिक अस्पताल जनकपुरधामका प्रसूतिगृहलाई सामग्री अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहलाई हस्तान्तरण गरेको छ।







