काठमाडौँ । हुम्ला हिमताल विस्फोटबारे अध्ययन गर्न गएको टोलीले शुक्रबार प्रतिवेदन बुझाएको छ।
गत जेठ १ गते उत्तरी हुम्लाको तिल्जुङ खोलामा भेलबाढी आएको थियो।
त्यसबारे अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुशीलकुमार श्रेष्ठसहितको टोली गएको थियो।
उक्त टोलीमा खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिव बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी थिए।
तीन सदस्यीय स्थलगत अध्ययन टोलीले घटनाको प्रमुख कारणको रूपमा भूमिगत बरफ पग्लिन गई बनेको सानो ओढारजस्तो संरचनाले तालतर्फ निरन्तर रूपमा क्षयीकरण गरेको निष्कर्ष निकालेको छ।
यसरी क्षयीकरण गर्दा एक्कासि तालको पानी हिमोढको भित्री भाग हुँदै बाहिरिनु (सबसर्फेस सिपेज)लाई पहिचान गरेको हो।







