काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागहरूमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको छ ।
आज बसेको सचिवालय बैठकले नीति तथा विचार विभाग प्रमुखमा उपसभापति डा. स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियार, कृषि विभाग प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभाग संयोजकमा श्रीराम न्यौपानेलाई चयन गरेको प्रवक्ता मनिष झाले बताए ।
विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य(संवाद कार्यदल’ गठन गर्ने निर्णय बैठकले गरेको छ ।
‘सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो । उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
शनिबार बिहान ९ बजे लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
पार्टी स्थापना दिवसकै दिन शनिबार केन्द्रीय समिति बैठक आयोजना गर्ने, पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।








