काठमाडौँ । गृह मन्त्रालयले भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित तीन सहसचिवको सरुवा गरेको छ । भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई अर्घाखाँची सरुवा गरिएको छ भने भक्तपुरमा गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेलाई खटाइएको छ । पाण्डे केही दिनअघि मात्र कास्कीबाट गृह मन्त्रालयमा सरुवा भएका थिए ।
यस्तै, अर्घाखाँचीका प्रजिअ वेदप्रसाद खरेललाई गृह मन्त्रालयमा तानिएको छ । सेवाग्राही र कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि मन्त्रालयले अर्याललाई तत्काल मन्त्रालय फिर्ता बोलाएको गृह प्रशासन स्रोतले जनाएको छ । गृहमन्त्रीसमक्ष समेत उनको उजुरी परेको थियो ।
पछिल्लो समय गृह मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई तीव्रता दिएको छ । सहसचिव दरबन्दीमा उपसचिव प्रजिअहरूलाई हटाएर सहसचिवलाई जिम्मेवारी दिइएको छ भने अतिरिक्त(बरण्डा)मा रहेका सहसचिवको व्यवस्थापन गरिएको छ । तर, सरुवा प्रक्रियामा वर्ग नमिलेको र व्यावहारिकता नअपनाइएको गाईगुई गृहमा सुनिएको छ ।







