काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने उनको टिप्पणी छ ।
आज संसद बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बलियो बनाउने र राष्ट्रिय एकता कायम गर्ने गरी संविधान संशोधन गर्न सकिने बताए । तर, संविधानको अपमान हुने गरी टीकाटिप्पणी नगर्न उनले आग्रह गरे ।
उनले भने, ‘म आफूलाई आलोचना, विरोध, गाली सहन्छु तर सहिदप्रतिको अपमान, बलिदानप्रतिको अपमान, विगतका संघर्षको अपमान, प्रणालीको अपमान, संविधानको अपमान यो कुरा सैह्य हुँदैन । माननीयज्यूहरूले बोल्दा यी कुराहरूमा संयम अपनाएर बोलौँ ।’
कुनै पनि कुरालाई संसदले हल्का ढंगले लिनु नहुने ओलीले बताए ।
उनले थपे, ‘संसद भनेको प्रणाली र संविधानभित्रबाट क्रियाकलाप गर्ने ठाउँमा हो । यहाँ बलिदानको धज्जी उडाउने र यसलाई मजाक बनाउने कुरा नगरौँ ।’







