काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् । शून्य समयमा सांसदहरुले सर्पदंश, मानव तस्करी, लम्पी स्किन, शैक्षिक गुणस्तरलगायतका विषयमा आफ्ना धारणा राखेका हुन् ।
सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षाका विद्यार्थीबाट भएको तोडफोड गैरकानुनी र निन्दनीय रहेकाले विश्वविद्यालयलाई सुरक्षित, मर्यादित र प्राज्ञिक वातावरण बनाउन र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
सांसद मीना तामाङले काभ्रेको पाँचखाल नगरपालिका-७, ८, ९ र १० मा मानव तस्करले गरिबीको बहानामा ललाइफकाइ गर्दै अंग बेच्न बाध्य बनाएको बताउँदै तस्कर नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद मेटमणि चौधरीले सर्पदंश रोकथामकालागि गढवा गाउँपालिका–७ दाङ देउखुरीमा सर्पदंश उपचार केन्द्र स्थापना भए पनि दक्ष जनशक्ति र संरचनाको अभावमा सञ्चालन हुन नसकेको बताए । उनले दक्ष जनशक्ति र आइसियु र भेन्टिलेटरको सुविधा माग गरे ।
सांसद मैना कार्कीले तराईमा खाद्यान्नजस्तै धान, गहुँ, तरकारी आदिमा र पहाडमा फलफूलको अर्ग्यानिक क्षेत्र बनाउन सकिने धारणा राखिन्।
सांसद योगेन्द्र मण्डलले हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे । सांसद रणकुमारी बलम्पाकी मगरले शैक्षिक सुधार अपरिहार्य भएकाले यसलाई गुणस्तरीय र रोजगारमुखी बनाउनुपर्ने बताए ।
सांसद राजेन्द्रकुमार केसीले लम्पी स्किनको उपचार भनेकै खोप दिनुपर्ने भएकाले केन्द्रीय सरकारले खोपको उपलब्धता गराउनुपर्ने माग राखे।
सांसद रमा कोइराला पौड्यालले चालु आर्थिक वर्षमा प्रदूषण मापनका लागि आधुनिक प्रविधि प्रयोग गरिने, यातायात प्रणालीलाई वातावरणमैत्री बनाउन विद्युतीय बस थप्नेलगायतका योजनाहरूको विवरण माग गर्नुभयो ।
सांसद मेनकाकुमारी पोखरेल, सांसद रञ्जुकुमारी झा, सांसद रणेन्द्र बराली, सांसद लालप्रसाद सावा लिम्बु, सांसद मंगलप्रसाद गुप्ता, सांसद रमा कोइराला पौड्याल, सांसद रेखा शर्मा, सांसद रुपा शोशी चौधरी र सांसद रुक्मिणी राना बराइलीले आफ्ना धारणा संसद्मा राखे ।







