साउदी अरबमा कार्यरत नेपाली श्रमिकले अब आफू बसेकै ठाउँबाट कुनै समस्या पर्यो भने गुनासो टिपाउन, लेबर कोर्टमा उजुरी गर्न र नेपाली दूतावासबाट पाइने सेवा लिन सक्छन् । दूतावासले नेपाली श्रमिकका लागि हरेक कुरा ‘डिजिटाइज्ड’ गर्दै लगेको छ ।
काठमाडौँ । तपाईँ अहिले वैदेशिक रोजगारको क्रममा साउदी अरबमा हुनुहुन्छ ? यहाँ बस्ने र काम गर्नेक्रममा विभिन्न खाले समस्यासँग जुधिरहनु भएको छ ? त्यो अवस्थामा के गर्ने वा के नगर्ने भन्ने मेसो पाइरहनु भएको छैन ? आफूलाई परेका समस्याको समाधान कसरी खोज्ने भनेर अलमल वा चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता लिनु पर्दैन । साउदी अरबको रियादमा रहेको नेपाली राजदूतावासले तपाईँ साउदीको जुन ठाउँमा हुनुहुन्छ, त्यहीँ ठाउँमै बसीबसी आफ्नो समस्या राख्न सक्ने र त्यसको समाधान निकाल्न सक्ने उपाय जुराएको छ । किनभने दूतावासले सबै जानकारी र सेवा अब अनलाइनमै उपलब्ध हुने व्यवस्था मिलाएको छ ।
साउदी अरब नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मध्येको मुलुक हो । वैदेशिक रोजगार विभाग र रियादस्थित नेपाली दूतावासको तथ्याङ्क अनुसार साउदी अरबमा अहिले ४ लाख भन्दा धेरै नेपाली श्रमिक कार्यरत छन् । ‘साउदी डेभलपमेन्ट भिजन २०३०’ बमोजिम साउदी सरकारले विकास पूर्वाधार निर्माण–बिस्तारमा बृहत् काम गरिरहेकाले नेपाली श्रमिकको संख्या यहाँ क्रमशः बढ्दो क्रममा छ ।
नेपालबाट साउदी पुगेका श्रमिकहरू मूलतः अदक्ष वा कम दक्ष रहेको, उनीहरू धेरैजसो जोखिमपूर्ण काममा संलग्न हुँदै आएको, तीमध्ये धेरैजसो कामदार आफ्ना लागि निर्धारित कतिपय नियम र मापदण्डबारे पनि कमै जानकार छन् । यही अवस्थालाई ध्यानमा राखेर रियादस्थित नेपाली दूतावासले उनीहरूलाई आवश्यक पर्ने जानकारी र आवश्यक सेवा अनलाइनमै उपलब्ध हुने व्यवस्था मिलाएको छ । दूतावासले नेपाली श्रमिकलाई उपलब्ध गराउने कैयौँ यस्ता महत्त्वपूर्ण सेवा छन् जो अनलाइनमा उपलब्ध छन् ।
जस्तो, साउदीमा कार्यरत नेपाली श्रमिकले आफू बसेकै ठाउँबाट आफूलाई परेको कुनै समस्या तथा गुनासो राजदूतावासमा पेश गर्न वा सो सम्बन्धी अपडेट लिन सक्छन् । त्यसका लागि दूतावासले लिंक र क्युआर कोड दुवै उपलब्ध गराएको छ । यस्तै, काम सकेर नेपाल फर्कनु पर्दा लिनुपर्ने आफ्नो ‘एक्जिट भिसा’को स्टेटसबारे उनीहरूले क्युआर कोड वा लिंकबाटै जानकारी लिन सक्छन् ।
साउदीमा कार्यरत नेपाली श्रमिकका लागि राहदानीको म्याद सकिने चिन्ता सधैँ भइरहन्छ । त्यो अवस्थामा उनीहरूले राहदानी नवीकरण गर्नुपर्ने हुन्छ । दूतावासले क्युआर कोड वा लिंकमार्फत् नै राहदानी नवीकरणका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ । त्यही फारमका आधारमा उनीहरूले दूतावासबाट नयाँ राहदानी लिन सक्छन् ।
विदेशमा कार्यरत नेपाली श्रमिकलाई कन्सुलर सेवा विभाग र त्योसँग सम्बन्धित काम निकै महत्त्वपूर्ण हुन्छन् । दूतावासले साउदीमा कार्यरत नेपालीका लागि कन्सुलर सेवा विभाग सम्बन्धी सूचना तथा जानकारी अनलाइन लिंक वा क्युआर कोडमार्फत सहजै उपलब्ध गराएको छ । अहिले विदेशमा कार्यरत नेपालीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने व्यवस्था मिलाइएको छ । सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि साउदीमा कार्यरत श्रमिकले अनलाइनमै फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ । यसको प्रमाणीकरणका लागि उनीहरूले मागपत्र पनि अनलाइनमै पेस गर्न सक्छन् ।
साउदीमा कार्यरत श्रमिकका लागि अकामा, हुरुप जस्ता विषय अति महत्त्वपूर्ण छन् । अब श्रमिकले आफ्नो अकामा बनेको स्थान, हुरुप लागेको वा नलागेको जानकारी र आफूले काम गर्ने कम्पनीको स्ट्याटस थाहा पाउन कुनै झन्झट गर्नुपर्दैन । दूतावासले उपलब्ध गराएको लिंक वा क्युआर कोडबाट उनीहरूले तत्कालै र सजिलै यसबारे जानकारी लिन सक्छन् ।
नेपाली श्रमिकले कार्यरत कम्पनी वा रोजगारदाताबाट सम्झौतामा उल्लेख भएको वा तोकिएको सेवा र सुविधा नपाउने समस्या पनि उत्तिकै छ । त्यो अवस्थामा आपसी छलफलबाट समस्या समाधान नभए साउदीको कानुनअनुसार कानुनी प्रक्रियामा जानुपर्ने हुन्छ । त्यसका लागि लेबर कोर्टमा उजुरी गर्ने व्यवस्था छ । नेपाली श्रमिकले आफू कार्यरत कम्पनीविरुद्ध साउदीको लेबर कोर्टमा अनलाइनबाटै उजुरी गर्न सक्ने व्यवस्था दूतावासले मिलाएको छ । अब जोकोही श्रमिकले दूतावासले उपलब्ध गराएको लिंक वा क्युआर कोडबाट साउदी लेबर कोर्टमा अनलाइन उजुरी गर्न सक्छन् । त्यसकै आधारमा लेबर कोर्टले कानुनी प्रक्रिया अघि बढाउँछ ।
अद्यावधिक वेबसाइट र सोसल मिडिया, जिम्मेवारी तोकिएका इकाइ
साउदीमा कार्यरत नेपाली श्रमिकलाई आवश्यक सेवा र सूचना तथा जानकारी उपलब्ध गराउन रियादस्थित नेपाली दूतावासले आफ्नो वेबसाइट र फेसबुक लगायतका सामाजिक सञ्जाल नियमित रूपमा अद्यावधिक भइरहने व्यवस्था मिलाएको छ । यस्ता सेवासम्बन्धी लिंक र क्युआर कोड वेबसाइट र सामाजिक सञ्जालमै उपलब्ध गराइएको छ । त्यसबाहेक साउदी अरबमा फेरबदल भइरहने कानुनी प्रक्रियाको जानकारी पनि दूतावासले सामाजिक सञ्जालमा तत्कालै उपलब्ध गराउँछ ।
यी कुरा त्यहाँको बृहत् नेपाली समुदायमाझ पुर्याउन दूतावासले भर्खरै मात्र ‘वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहँदा ध्यान दिनुपर्ने विषय तथा जानकारी सम्बन्धी हाते पुस्तिका’ प्रकाशनमा ल्याएको राजदूतावासका काउन्सेलर कविराज उप्रेतीले प्रशासनलाई बताए । २०२५ जुनमा प्रकाशित यो हाते पुस्तिकामा नेपाली श्रमिकलाई आवश्यक पर्ने सेवा र त्यसका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाबारे अझ विस्तृतमा जानकारी दिइएको छ । काउन्सेलर उप्रेती भन्छन्, “यसलाई सकेसम्म धेरै नेपालीसमक्ष पुर्याउन सकियो भने झन् धेरै नेपालीले सहज र प्रभावकारी सेवा पाउनुहुनेछ । साउदीमा सक्रिय नेपाली संघसंस्थाबाट यसमा सक्रिय सहयोग हुने हाम्रो अपेक्षा छ ।”
“पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई अझ प्रभावकारी बनाउन, म्यानपावर संस्था, तालिम दिने निकाय, एनआरएनए, एयरलाइन्स, ट्राभल एजेन्सी र मिडियाले सचेतनामूलक पुस्तिका २०२५ लाई व्यापक रूपमा पुर्याउन सहयोग गर्न आवश्यक रहेको छ” उप्रेतीले प्रशासनसँगै भने, “यसले नेपाली श्रमिकलाई सुरक्षित वैदेशिक रोजगारीमा रहन धेरै ठूलो मद्दत गर्नेछ ।”
आफूलाई आवश्यक सेवा नेपाली श्रमिकले सहजै लिन सक्ने गरी अनलाइन लिंक तथा क्युआर कोड उपलब्ध गराएको दूतावासले यसबारे थप बुझ्न वा थप जानकारी लिन चाहनेका लागिसमेत प्रभावकारी व्यवस्था गरेको छ । त्यसका लागि रियादस्थित नेपाली दूतावासमा सम्बद्ध जिम्मेवार इकाइ र अधिकारी तोकेर त्यसको जानकारीसमेत सार्वजनिक रूपमा प्रवाह गरिरहेको छ । “आफूलाई आवश्यक सेवा सम्बन्धमा थप जानकारी आवश्यक परेमा राजदूतावासको सम्पर्क नम्बर ०११–४६१११०८ मा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र ०११–२८८३७९५ मा दिउसो ३ बजेदेखि बेलुका ५ बजेसम्म दूतावास खुल्ला रहेको दिन सम्पर्क गर्नुहोला,” दूतावासले प्राय: जारी गरिरहने सूचनामा उल्लेख गर्दै आएको छ ।
दूतावासले वेबसाइट, इमेल, फेसबुक पेज, ट्विटर (एक्स) अकाउन्टमा पनि गुनासो दर्ता गराउन वा अरु जानकारी लिन मिल्ने व्यवस्था गरेको छ । त्यस्तै, सोधपुछ तथा श्रम सम्बन्धी अरु कैयौँ समस्याका लागि बेग्लाबेग्लै टेलिफोन नम्बरको व्यवस्था गरेको छ । श्रमिक सहायता तथा परामर्शका लागि श्रम काउन्सिलर तोकेर टेलिफोन नम्बर र सिधा सम्पर्क गर्न सकिने अनलाइन लिंक पनि उपलब्ध गराएको छ । त्यस्तै, यही कामका लागि तृतीय सचिव र श्रमिक सहायता तथा परामर्श शाखाको फोन नम्बर, पासपोर्ट सम्बन्धी जानकारीका लागि सम्बद्ध अधिकृतको नम्बर र लिंक पनि उपलब्ध गराएको छ । साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरू अहिले भन्न थालेका छन्– गरेपछि हुँदो रहेछ, हामीले नेपाली दूतावास धेरै नै बदलिएको महसुस गरेका छौँ ।







