काठमाडौँ । हिजोदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै प्रमुख सुरक्षा निकायका उच्च अधिकारी तथा सरकारका प्रतिनिधिहरूले सार्वजनिक अपिल जारी गरेका छन्।
अपीलमा ज्यान गुमाउने नागरिकप्रति गहिरो श्रद्धाञ्जली र परिवारजनप्रति संवेदना व्यक्त गरिएको छ। साथै, प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा थप जनधनको क्षति हुन नदिन सबैलाई संयमित रहन आग्रह गरिएको छ।
सहमतिको माध्यमबाट चाँडो शान्तिपूर्ण समाधान निकाल्न राजनीतिक संवादलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सुरक्षा प्रमुखहरूले सम्बन्धित सबैलाई संयम अपनाउन हार्दिक अनुरोध गरेका छन्।
अपीलमा हस्ताक्षर गर्नेहरूमा मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिन्देल, गृह सचिव गोकर्णमणि डुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापा रहेका छन्।








