काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेन जेड पुस्ताको माग संविधानको खारेजी र संसद्को विघटन नभए पनि लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गरेको बताएका छन्।
जेन जेड पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने भएको बताए।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् । जेन जेड पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसद्को विघटन थिएन तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद् विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेन जेड पुस्ता सचेत हुन जरुरी छ ।
लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने उनले बताए।
लोकतन्त्र विहीन राज्यमा भ्रष्ट्राचार र कुशासन विरुद्धका आन्दोलन त के बोल्न समेत नपाइने अवस्था सिर्जना हुने बताए।
विज्ञप्तिमा भनिएको छ, ‘जेन जेड पुस्ताले उठाएका मागको संशोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्न सकिन्छ । भ्रष्ट नेताहरूलाई कारबाही गर्न सकिन्छ, उच्च स्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न सकिन्छ, जुन माग हाम्रो पार्टीले पहिलेदेखि नै राख्दै आएको छ । संविधान संशोधन गरेर जेन जेडले भने जस्तो बनाउन सकिन्छ ।’
उनले छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउन सकिने बताए।









