काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाहिरिएकी नेतृ सुमना श्रेष्ठले आफू पार्टीबाट अलग भए पनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् ।
अहिलेको जेन जेड आन्दोलनप्रति कट्टर समर्थन जनाउँदै उनले यसलाई बदनाम गर्ने कोसिस नगर्न आग्रह चेतावनी दिइन् ।
फेसबुक लाइभमा बोल्दै श्रेष्ठले जेन जेड आन्दोलनलाई भविष्यले गरेको विद्रोहको संज्ञा दिइन् ।
उनले भनिन्, ‘यो भविष्यले गरेको आन्दोलन हो । यो परिवर्तनका लागि गरिएको आन्दोलन हो । सबैलाई भन्न चाहन्छु मैले परिवर्तनको एजेन्डा छोडेको छैन । भित्र बसेर गर्न सकिनँ, अब तपाईँहरूमाझ आएर गर्नेछु ।’
श्रेष्ठले नयाँ सरकारमा मन्त्री खान नजाने प्रस्ट्याइन् । सरकारलाई बाहिर बसेर सघाउने उनको प्रतिबद्धता छ ।
युवाहरूको बलिदानलाई खेर जान नहुने पनि उनले बताइन् ।
‘७२ जनाको ज्यान गइसकेको छ । उहाँहरूको बलिदानलाई कसैले पनि बदनाम गर्न पाउनुहुन्न । युवाको बलिदान यत्तिकै खेर जान नदिनुहोला । यो परिवर्तनका लागि युवापुस्ताले गरेको विद्रोह हो ।’ उनले भनिन् ।
पुराना राजनीतिक दलका युवा नेताहरूलाई उनले पार्टी छोड्न वा पुरानालाई विस्थापित गर्न सुझाव दिइन् ।
श्रेष्ठले भनिन्, ‘पुराना दलहरूको तेस्रो, चौथो, पाचौं पुस्तालाई म आह्वान गर्न चाहन्छु, कति डराउने ? किन डराउने रु आखिर हामी सबैले चाहेको परिवर्तन हो । कि हट्नुस् कि हटाउनुस् । तर एउटा पार्टीभित्र बसेर जेन जेनको रेभुलुसनलाई बदनाम गर्ने अभियानलाई साथ नदिनुहोला ।’







