काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले जलेका पैसाका नोटहरूको कारोबार नगर्न आग्रह गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै जलेका नोटहरूबाट कारोबार भए गरेको पाइएमा नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।
भदौ २४ गते जेन जेड प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा नेता र व्यवसायीका घर तथा प्रतिष्ठानमा भएको आगजनीका क्रममा जलेका नोटहरू भेटिएको भिडियोहरू सार्वजनिक भएका थिए ।
बुढानीलकण्ठमा पनि काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि जलेका नोट भेटिएको समाचार तथा भिडियोहरू आएका थिए ।
यद्यपि सभापति देउवाको सचिवालयले ती भिडियोलाई कपोकल्पित र भ्रामक भन्दै खण्डन गरेको छ ।
प्रदर्शनकारीले आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्याएको समाचार सार्वजनिक भइरहेका बेला बुढानीलकण्ठ नगरपालिकाले नगरभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई जलेका नोटमा कारोबार नगर्न आग्रह गरेको छ ।







