काठमाडौँ । जेन जेड आन्दोलनपछि युएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोकेपछि यसको असर क्रिकेटमा पर्न सक्ने जोखिम देखिएको छ ।
युएई भ्रमणमा जान लागेको नेपाली क्रिकेट टिमका खेलाडीहरूले भिसा पाएका छैनन् ।
नेपालले वेस्ट इन्डिजसँग तीन टी-२० म्याचको श्रृंखला युएईमा खेल्दै छ । उक्त श्रृंखलाका लागि आज नेपाली टिम युएई प्रस्थान गर्ने सेड्यूल थियो । तर, युएईको दूतावासले नेपाली खेलाडीहरूलाई भिसा दिएको छैन ।
खेलाडीहरूले केही दिनअघि भिसाका लागि आवेदन दिए पनि अहिलेसम्म प्राप्त नभएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । वेस्ट इन्डिजविरुद्धको श्रृंखलाका लागि अझै केही दिन बाँकी रहेकाले त्यसअघि भिसा आउने आशा रहेको उनको भनाइ छ ।
जेन जेड आन्दोलनका क्रममा ठूलो सङ्ख्यामा कैदीहरू जेलबाट निस्किएपछि युएई सरकारले नेपालीहरूलाई भिसा रोक्ने निर्णय गरेको थियो । यद्यपि, यसबारे कुनै औपचारिक सूचना निकालिएको छैन । अहिले भिजिट भिसा दिने देशको सुचीबाट नेपालको नाम हटाइएको पर्यटन व्यवसायीहरूले बताएका छन् ।







