काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारी बरालले जेन जेड आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छिन् ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले जेन जेडले बलिदानीका कारण परिवर्तन आएको बताइन् ।
भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवाहरूले गोली खानुपरेको बताउँदै जेन जेड पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको पनि बताइन् ।
‘के भनेका थिए त ती जेन जेडले, के मागेका थिए त, खाली भ्रष्टाचार र एउटा सुशासनको कुरा न गरेका थिए, उनीहरूले । त्यही पनि उनीहरूको लागि भनेकै थिएनन्, त्यो बेला । अहिले देख्नुहुन्छ तपाईँहरू उनीहरूले आन्दोलन गरे तर पदमा जाने त हामी पो भएछौँ । उनीहरूले त खाली मागेका थिए, सुशासन,’ उनले भनिन् ।
आन्दोलनमा सहभागी युवाहरूले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र बिदेसिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उनको भनाइ छ । उनले जेन जेडले आन्दोलन गरे पनि पदमा भने आफूहरू पुगेको बताइन् ।
‘उनीहरूले मागेका थिए खाली सुशासन होस्, हामी बाहिर जान नपरोस् । भ्रष्टाचारको अन्त्य होस् । आज माग्दाखेरी गोली खाए । र गोली खाएपछि नयाँ परिवर्तन आएको छ,’ उनले भनिन्, ‘त्यसैले म हरेक अभिभावकलाई छातीमा हात राखेर भन्नुस्, म अनुरोध गर्छु । के ती बच्चाहरूले आफ्ना लागि आन्दोलन गरेका थिए त ? होइन । देशका लागी आन्दोलन गरेका थिए ।’
उनले आन्दोलनका क्रममा जेन जेडले सार्वजनिक सम्पत्ति नजलाएको पनि दाबी गरिन् ।







