काठमाडौँ। नेपालीहरूको महान् पर्व बडादशैं सुरु भएसँगै जनकपुरधामको वातावरण उत्सवमय बनेको छ । सहरका शक्तिपीठ र मन्दिर वरपर नवदुलही झैँ सिँगारिएका छन्।
विशेष गरी राजदेवी मन्दिर र बौधीमाई मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ । राममन्दिर परिसरमा खेलतामासा, झुला लगायतका मनोरञ्जनात्मक कार्यक्रम राखिएका छन् । दशैंभर प्रत्येक साँझ यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । यसको व्यवस्थापन महावीर युवा कमिटी र राम युवा कमिटीले गर्दै आएका छन्।
त्यसैगरी पीडरिया माइस्थान, मुरीलचोक, रजौलको दुर्गा मन्दिर, देवीचोकस्थित राजदेवी मन्दिर र वंशी चोकलगायतका शक्तिपीठहरू पनि आकर्षक सजावटले झकिझकाउ बनेका छन् । रामानन्दचोक र भ्रमरपुराचोकमा समेत नवदुर्गाको प्रतिमा राखी विशेष सिंगार गरिएको छ।
जनकपुरधामका शक्तिपीठ तथा आसपासका क्षेत्रमा स्थानीय युवा क्लब र पूजा समितिहरूले निर्माण गरेका टेन्ट-पण्डालहरू रंगीन कपडा र चम्किला बत्तीहरूले सजाइएका छन् । यसले दशैंको वातावरणलाई अझ उल्लासमय बनाएको छ।







