काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेन सोङले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्।
भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले विद्यमान विषम परिस्थितिमा छिमेकी मुलुक र दातृ निकायहरूसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिन आवश्यक रहेको औँल्याए।
यस अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारत नेपालका सबैभन्दा नजिकका छिमेकीको नाताले विशेष सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए। उनले नेपालमा सञ्चालन भइरहेका भारतीय सहयोगका विकास आयोजना र लगानीमा तीव्रता दिने र निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक सहकार्य गर्न भारत तत्पर रहेको उल्लेख गरे। साथै, नेपाल–भारतबीच व्यापार सहजीकरणको लागि दुवै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
त्यसैगरी, चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीनलाई नेपालका असल छिमेकीको रूपमा सम्बोधन गर्दै निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। उनले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने तयारीबारे जानकारी दिँदै चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
खनालले चीनसँग बैंकिङ साझेदारीलाई गहिरो बनाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना गर्न, निर्यात भुक्तानी सरलीकरणमा पहल गर्न र लगानी वातावरणमैत्री बनाउन आग्रह गरे।
जवाफमा चिनियाँ राजदूत सोङ्गले चीनले नेपालका जनताको छनोटलाई सधैँ सम्मान गर्ने र सहयोग निरन्तर रहने आश्वासन दिए। उनले चीनको सहयोगमा निर्माणाधीन परियोजनाहरू सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गर्दै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासँग छुट्टै अन्तर्क्रिया गरिने जानकारी दिए।
अर्थमन्त्री खनालसँगको दुवै भेटलाई नेपाल–भारत र नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।







