काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दी मिलानले कर्मचारीको करियरमा असर नपर्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मंगलवार(आज) पत्र लेख्दै भाद्र ३१ गते बसेको सचिवहरूको बैठकले विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयमा कार्यरत कर्मचारीको दरबन्दी व्यवस्थापनबारे भएको निर्णयबारे थप स्पष्ट पारेको हो ।
निर्णयबारे केही अस्पष्टता रहेको भन्ने टिप्पणी आएपछि कार्यालयले प्रस्ट्याउँदै दरबन्दी मिलान कार्य बोझ कम भएका निकायबाट कार्य बोझ बढी भएकामा सेवा प्रवाह सुचारु राख्न गरिएको भनेको छ । यसरी दरबन्दी मिलान गर्दा कर्मचारीहरूको वृत्ति विकासमा कुनै असर नपर्ने मन्त्रालयले प्रस्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “सेवा प्रवाहमा कठिनाइ भएका निकायमा दरबन्दी व्यवस्थापन गर्ने प्रयोजनका लागि मात्र यो प्रक्रिया अघि बढाइएको हो। कर्मचारीको करियर विकास वा पदोन्नतिमा यसले कुनै नकारात्मक प्रभाव पार्ने छैन।”








