काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीको अनुपस्थितिमा आफूलाई कार्यवाहक अध्यक्ष तोकेकी छन् ।
अध्यक्ष पराजुली असोज ५ गतेदेखि विदेश भ्रमणमा रहेकी छिन् । सामान्यतया अध्यक्ष अनुपस्थित हुँदा कामकाजका लागि कार्यवाहक तोक्ने प्रचलन भए पनि पराजुलीले कसैलाई पनि तोकेकी छैनन् ।
त्यसपछि सदस्य खतिवडाले आज बिना सम्बोधनको पत्र जारी गर्दै आफूले आयोगको कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्ने जानकारी गराएकी हुन् ।
उनले राष्ट्रिय महिला आयोग ऐन, २०७४ को परिच्छेद ४ को दफा २० र संविधानको धारा १०१ को उपधारा ६ को व्याख्या गर्दै, अध्यक्ष अनुपस्थितिमा वरिष्ठतम सदस्य कार्यवाहक अध्यक्ष हुने प्रावधानमा आफूलाई तोकेकी छन् । तर, संविधान वा ऐनमा आफैँले आफूलाई कार्यवाहक तोक्ने व्यवस्था भने छैन।
पत्रमा खतिवडाले लेखेकी छन्, “अध्यक्ष पराजुली मिति २०८२/०६/०५ देखि आयोगमा उपस्थित नभएसम्मका लागि म, वरिष्ठतम सदस्य, कार्यवाहक अध्यक्षका रूपमा नियमबमोजिम कार्यसम्पादन गर्ने जानकारी गराउँछु ।”








