काठमाडौँ । सरकारले जेन जेड आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन जेड आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गरिने र ज्यानजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाइएको छ। प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण पनि गरिने मन्त्री खरेलले बताए। त्यस्तै ज्यानजी क्लिनिकमार्फत सहज र निःशुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय पनि भएको छ।







