काठमाडौँ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज २० गतेसम्म हुने भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
गण्डकी प्रदेशमा अत्यधिक वर्षाको प्रभाव म्याग्दीमा समेत पर्ने भन्दै प्रशासनले साँझ ६ बजे अगाडि नै सुरक्षित ठाउँमा बस्न र यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखाको सूचना आएकाले धेरै बर्षा हुने सूचीमा गण्डकी प्रदेशलाई समेत राखेपछि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले विज्ञप्ति मार्फत जानकारी दिए ।
‘म्याग्दी र मुस्ताङमा यात्रा गर्ने यात्रुलाई विशेष ध्यान दिन अनुरोध छ, सडक खण्डमा बाढी पहिरोले समस्यामा पर्न सकिन्छ। जिल्लाका मुख्य म्याग्दी, काली गण्डकी, रघुघाट नदी सहित साना खोला–नालामा आकस्मिक बाढी आउन सक्ने, पहिरो तथा भू–क्षयजस्ता विपद्लाई मध्यनजर गरी तटीय क्षेत्रमा समेत आवतजावत तथा अत्यावश्यक बाहेक रात्रिकालीन समयमा सवारी सञ्चालन नगर्न समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।’ उनले भने ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रशासनले विशेष गरी मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न, साँझ ६ बजे अगाडी नै सुरक्षित स्थानमा पुग्न, विपद्को जोखिम भए तत्काल पूर्वतयारीमा जुट्न, सञ्चारका उपकरण तयारी, अधिक बर्षा हुने समय अवधिभरलाई कम्तीमा तीन दिनसम्मका लागि खाद्यान्न व्यवस्थापन गर्न,पदयात्रामा निस्किएकालाई सूचना दिन, स्थानीय तहले पूर्व तयारी तथा आपतकालिन उद्धारका लागि आवश्यक पर्ने एम्बुलेन्स सहित सवारीसाधनलाई समेत तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।’







