काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानो ठिमी भक्तपुरले देशभरका विद्यालयहरूलाई प्राकृतिक विपद्का जोखिमका बेला समुदायका लागि आपत्कालीन आश्रय स्थलको रूपमा प्रयोग गर्न सकिने निर्देशन जारी गरेको छ।
केन्द्रका निर्देशक नीलकण्ठ ढकालद्वारा हस्ताक्षरित सूचना अनुसार जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्व सूचनाका आधारमा असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा निरन्तर भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ।
वर्षाका कारण बाढी, डुबान, पहिरो लगायतका जोखिम बढ्ने भएकाले प्रभावित हुन सक्ने क्षेत्रका विद्यालयहरूलाई सतर्क रहन र आवश्यक तयारी गर्न भनिएको छ। सो क्रममा, यदि समुदायमा तत्काल राहत तथा सुरक्षाको आवश्यकता पर्ने अवस्था उत्पन्न भएमा विद्यालयका भवनहरूलाई आपत्कालीन आश्रय स्थलको रूपमा प्रयोग गर्न निर्देशन दिइएको हो।
निर्देशनमा थप भनिएको छ –विद्यालय प्रशासनले स्थानीय तह, शिक्षक र अभिभावकसँग समन्वय गरेर बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुका साथै विद्यालय सञ्चालनमा लचिलोपन अपनाउनु पर्नेछ। साथै, राहत, उद्धार र विपद् व्यवस्थापन कार्यमा पनि विद्यालय समुदायले सक्रिय भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार सतर्कता अपनाउन र आवश्यक तयारी पूरा गर्न आग्रह गरेको छ।








